दोलखामा बाढी–पहिरो: एक बेपत्ता, सात घर बगे, २४ परिवार जोखिममा
दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। वडा नम्बर ८ र ९ मा सात वटा घर बगेका छन् भने करिब ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। चार जनाको भने सकुशल उद्धार गरिएको छ।
खोलाको कटान र पहिरोका कारण २४ परिवार उच्च जोखिममा परेपछि आठ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले निजी घर, सामुदायिक भवन, गोठ, पशुचौपाया र सयौँ रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। सिप्रिङखोला १० मेगावाट जलविद्युत् आयोजनाका संरचनामा पनि ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार प्रारम्भिक अनुमानमै करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। विस्थापित परिवारलाई अस्थायी आवासका लागि ५० हजार र स्थायी आवास निर्माणपछि थप २ लाख ५० हजार गरी प्रतिपरिवार कुल ३ लाख रुपैयाँ राहत उपलब्ध गराइने निर्णय गरिएको छ।
हाल प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र पारिएको छ। स्थानीय प्रशासनले वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया