एमाले–नेकपा बीच प्रदेश सरकारमा सत्ता साझेदारीको सहमति
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्दै सत्ता साझेदारी गर्ने सहमति भएको छ।
शनिबार भएको सहमतिअनुसार दुवै दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्ने र प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने भएका छन्।
सहमतिपत्रमा प्रदेशमा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले लिनेछ।
त्यस्तै मधेश र गण्डकी प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सत्ता साझेदारीको स्वरूप तय गरिने सहमति भएको छ।
उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले हस्ताक्षर गरेका छन्।
तपाईको प्रतिक्रिया