सोमबार ११ श्रावण २०८३
समाज

सीमा सहजीकरणका लागि सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन

आइतबार श्रावण १०, २०८३/ Sunday 07-26-26

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्यसम्पादन भइरहेको बताएका छन्।

सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडी बढेको बताएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गरेका थिए । साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत उनले जानकारी लिएका छन् ।

महानिरीक्षक पौडेलले विशेष गरी समय–समयमा भईरहेको सीमा विवाद, क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकहरुको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसार पसार लगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा समेत अन्य सुरक्षा निकायको समन्वय र सहकार्यमा नियन्त्रण गर्दै आईरहेको बताएका छन्।

उहाँले हाल नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले २ सय ६० वटा बोर्डर आउट पोष्टहरु स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आईरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४ सय २५ वटा बनाउने योजना रहेको बताएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले  १ हजार ८ सय ८० किलोमिटर   नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको २ सय ४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको बताउनुहुँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि नेपाल सरकार गृहमन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भई रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया