राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (एनआईडी) लाई पनि यात्रा परिचयपत्रका रूपमा मान्यता दिई नेपाली नागरिकलाई भारत प्रवेश गर्न दिने व्यवस्था मिलाइदिन भारत सरकारसँग औपचारिक अनुरोध गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले परराष्ट्र मन्त्रालयमार्फत भारतसमक्ष उक्त प्रस्ताव पठाएको हो। विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार करिब दुई साताअघि नै यो अनुरोध पठाइएको भए पनि भारतबाट हालसम्म औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन।
हाल नेपाल र भारतबीचको खुला सीमाका कारण नेपाली नागरिकले नागरिकता वा राहदानी (पासपोर्ट) प्रस्तुत गरेर भारत आउजाउ गर्न पाउने व्यवस्था छ। नेपालले अब राष्ट्रिय परिचयपत्रलाई पनि वैध यात्रा परिचयपत्रका रूपमा स्वीकार गर्न भारतसँग आग्रह गरेको हो।
यदि भारतले यस प्रस्तावलाई स्वीकृति दिएमा नेपाली नागरिकले नागरिकता, पासपोर्ट वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजातका आधारमा भारत प्रवेश गर्न र फर्किन सक्नेछन्।
यस विषयमा गत साता काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीसँग अध्यागमन विभागले छलफलसमेत गरेको थियो। छलफलका क्रममा राष्ट्रिय परिचयपत्रका आधारमा यात्रा गर्न सहज वातावरण बनाउन आग्रह गरिएको विभागले जनाएको छ।
निर्देशक ढकालका अनुसार भारतीय पक्षले यस प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गरेको छ। यद्यपि, यसबारे अन्तिम निर्णय भने भारत सरकारको औपचारिक जवाफपछि मात्रै स्पष्ट हुनेछ।
तपाईको प्रतिक्रिया