काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले रसुवागढी, भोटेकोशी नदी तथा आसपासका तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थालाई राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यसैगरी, भारत सरकारसँग सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ।
बैठकले २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।
यससँगै सरकारले बाढी प्रभावितको पुनःस्थापना, कृषि सामग्रीको आपूर्ति तथा विपद् प्रभावितलाई आर्थिक सहयोगका लागि विभिन्न कदम अघि बढाएको छ।
तपाईको प्रतिक्रिया