शनिबार १३ भदौ २०८३
बिश्वो

केरुङ बाढीपहिरोपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

काठमाडौं ।  नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा भीषण बाढीपहिरो गएको भोलिपल्टै चिनियाँ प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेका छन्।

बेइजिङबाट करिब २ हजार किलोमिटर टाढाको शिचाङ स्वायत्त क्षेत्रस्थित ग्यिरोङ काउन्टी पुगेर प्रधानमन्त्री लीले बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनपछि ग्यिरोङ पुगेका लीले उद्धारमा खटिएका कर्मचारी तथा विस्थापित नागरिकसँग भेट गर्दै उद्धार, राहत र जोखिम न्यूनीकरणका कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

उनले विपद्को समयमा नागरिकको जीवनलाई सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार तथा आपत्कालीन प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

बुधबार ग्यिरोङ सीमा बन्दरगाह क्षेत्रमा आएको बाढीपहिरोले सडक, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ। चिनियाँ पक्षका अनुसार घटनामा हालसम्म तीन जनाको मृत्यु पुष्टि भएको छ भने सयौं मानिस सम्पर्कविहीन छन्।

यसअघि चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ पनि प्रभावित क्षेत्र पुगेर उद्धार तथा राहत कार्यको निरीक्षण गरिसकेका छन्।

नेपालतर्फ करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन

यसैबीच, नेपालतर्फ भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोपछि करिब १०० जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चीनले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नियमित पत्रकार सम्मेलनमा नेपालमा रहेका करिब १०० चिनियाँ नागरिक बेपत्ता भएको जानकारी दिएका हुन्। उनीहरूको अवस्थाबारे नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँग समन्वय गरिरहेको उनले बताए।

बाढीपहिरोबाट रसुवाको टिमुरे तथा केरुङ नाका आसपासका क्षेत्रमा सडक, पुल, भवनलगायत संरचनामा ठूलो क्षति पुगेको छ। सीमापारि ग्यिरोङ क्षेत्रमा समेत व्यापक क्षति भएपछि दुवै देशतर्फ खोजी, उद्धार र राहत कार्य चुनौतीपूर्ण बनेको छ।

तपाईको प्रतिक्रिया