शनिबार १३ भदौ २०८३
समाज

बाढीले क्षणभरमै बगर बनाएको देवीघाट

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

नुवाकोट ।  कुनै समय चहलपहलले भरिने नुवाकोटको ऐतिहासिक देवीघाट बजारकाे भाैतिक स्वरुप क्षणभरको बाढीले मेटाइदिएको छ । भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदी किनारका बस्ती र संरचनामा ठूलो क्षति पुर्‍याउँदै देवीघाटलाई समेत बगरमा परिणत गरिदिएकाे हाे।

बाढीसँगै आएको लेदो, गेग्रान र ढुंगाको भीषण बहावले नदी किनारका संरचना पुरिएपछि बजारको स्वरूप नै बदलिएको छ। केही समयअघिसम्म मानिसको आवतजावत, व्यापार–व्यवसाय र दैनिक चहलपहलले भरिएको क्षेत्र अहिले बगरजस्तो देखिन्छ।

त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको देवीघाट भौगोलिक र ऐतिहासिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। नेपालको एकीकरण अभियानका अभियन्ता पृथ्वीनारायण शाहको जीवनको अन्तिम समय यही क्षेत्रमा बितेकाले देवीघाटको ऐतिहासिक महत्त्व अझ विशेष छ।

तर पछिल्लो बाढीले यही ऐतिहासिक भूगोलको भविष्यबारे गम्भीर प्रश्न उठाएको छ। नदीले आफ्नो पुरानो बहाव क्षेत्रभन्दा बाहिरसम्म कटान तथा डुबान गरेपछि नदी किनारमा रहेका बस्ती र संरचना पुनः त्यही ठाउँमा निर्माण गर्नु सुरक्षित हुन्छ कि हुँदैन भन्ने बहस सुरु भएको छ।

बाढीले ल्याएको ठूलो मात्राको बालुवा, माटो, ढुंगा र गेग्रानले जमिनको सतहसमेत परिवर्तन गरिदिएको छ। कतिपय स्थानमा नदीको धार र किनारको स्वरूपसमेत बदलिएको देखिन्छ। यस्तो अवस्थामा तत्कालै पुरानै ठाउँमा बस्ती पुनर्स्थापना गर्दा भविष्यमा अर्को विपद्को जोखिम निम्तिन सक्ने विज्ञहरूको चिन्ता छ।

देवीघाटको समस्या केवल भौतिक संरचना पुनर्निर्माणको विषय होइन। यहाँको ऐतिहासिक पहिचान, धार्मिक महत्त्व र वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयको जीवनसँग जोडिएको बजारलाई सुरक्षित रूपमा कसरी पुनर्जीवित गर्ने भन्ने मुख्य चुनौती हो।

विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा छोटो समयमा अत्यधिक वर्षा, पहिरो र लेदोसहितको बाढीको जोखिम बढ्दै गएको अवस्थामा नदी किनारका पुराना बस्तीको पुनर्स्थापना अझ जटिल बनेको छ।

तपाईको प्रतिक्रिया