भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो, २ हजार ३८१ अझै सम्पर्कविहीन
काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।
बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९७ जना रहेका छन् ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
बाढीमा परी सर्वसाधारणसहित २ हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन्।
तपाईको प्रतिक्रिया