शनिबार १३ भदौ २०८३
समाज

भोटेकोशी बाढीमा बेपत्ताको खोजी गर्न २८ सय सैनिक मैदानमा

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले अभियान तीव्र बनाएको छ।

शव खोजी तथा व्यवस्थापनमा ढिलाइ भएको भन्दै गुनासो बढेपछि सेनाले विशेष टोली परिचालन गरी सम्भावित स्थानमा खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।

बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्‍याएका हुन सक्ने शवको खोजीका लागि रसुवादेखि चितवनसम्मका नदी किनारमा थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ। सेनाका टोलीले त्रिशूली र नारायणी नदी किनारका सम्भावित क्षेत्रमा समेत खोजी विस्तार गरेका छन्।

यसअघि उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १ हजार ६ सय सैनिक परिचालन गरिएको थियो। थप जनशक्ति परिचालनसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र शव खोजीमा खटिएको नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।

तीव्र नदी बहाव र कठिन भौगोलिक अवस्थाबीच पनि सैनिक टोलीले सम्भावित स्थान पहिचान गर्दै निरन्तर खोजी गरिरहेको सेनाले जनाएको छ। बाढीले शवलाई टाढासम्म बगाएको हुन सक्ने भएकाले रसुवादेखि त्रिशूली हुँदै नारायणी नदीको तल्लो तटीय क्षेत्रसम्म खोजीलाई केन्द्रित गरिएको छ।

 

तपाईको प्रतिक्रिया