विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए। प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले पक्षमा मतदान गरेपछि कार्कीले ५७ मत प्राप्त गरेका हुन्।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कांग्रेसका २९ सदस्य रहे पनि सोमबारको मतदानमा २२ मत मात्रै विपक्षमा परेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन्।
कोशी प्रदेशसभामा सुरुमा ९३ सदस्य रहेकामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
मुख्यमन्त्री कार्कीले संविधानअनुसार आवश्यक बहुमतभन्दा बढी मत प्राप्त गर्दै सरकारलाई निरन्तरता दिने जनादेश पाएका छन्।
तपाईको प्रतिक्रिया