काठमाडौँ। परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरमा मनाइँदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्वमा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना गरिन्छ ।
गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने तथा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने परम्परा छ । गाईको पुच्छर समातेर वैतरणी नदी पार गरेजस्तै मृतात्माले स्वर्ग प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिन गाईजात्रा सुरु गराएका थिए । रानीको शोक कम नभएपछि जनतालाई पनि जीवनमा मृत्युको दुःख भोग्नुपर्छ भन्ने सन्देश दिन विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गर्न लगाइएको जनश्रुति छ । त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको मानिन्छ ।
गाईजात्राका क्रममा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा दिवङ्गत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत प्रस्तुत गर्ने गरिन्छ । हनुमानढोकास्थित तत्कालीन राजदरबार भएर गाईजात्रा लैजाने परम्परा पनि अझै कायम छ ।
काठमाडौँ उपत्यकामा विशेष रौनक देखिने गाईजात्रा बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका शहरमा पनि धुमधामका साथ मनाइन्छ ।
तपाईको प्रतिक्रिया