हिमनदी भत्किएपछि ल्हेन्देमा बनेको ताल, यसरी आयो रसुवामा विनाशकारी बाढी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी कहाँबाट र कसरी सुरु भयो भन्नेबारे पछिल्ला उपग्रह तस्बिर तथा वैज्ञानिक विश्लेषणले महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेका छन्।
प्रारम्भिक विश्लेषणअनुसार बाढीको मुख्य कारण नेपाल–चीन सीमा क्षेत्रको उच्च हिमाली भूभागमा भएको ठूलो हिमनदी भत्किएर घटेको घटना भएको तथ्य सार्वजानिक गरेको छ। हिमनदीको तल्लो भाग एक्कासि भत्किएपछि ठूलो परिमाणमा हिउँ, चट्टान र माटो तल खसेर हिम–चट्टान पहिरो बनेको थियो।
यो पहिरो लाङटाङ लिरुङ आसपासको उच्च हिमाली क्षेत्रबाट ल्हेन्दे खोलातर्फ झरेको देखिएको छ। ठूलो हिमपहिरो मलबे खोलामा खस्दा ल्हेन्दे खोलाको प्राकृतिक बहाव अवरुद्ध भयो र त्यसपछी पानी जम्मा भएर अस्थायी ताल बनेको चिनियाँ ड्रोन तथा उपग्रह तस्बिरले देखाएको हो।
पहिरोपछि कसरी आयो यति ठूलो बाढी ?
पहिरोले खोलाको बहाव रोकेपछि माथिल्लो भागमा पानी जम्मा हुन थाल्यो। त्यसमा खोलाको निरन्तर बहावसँगै हिउँ पग्लिएर आएको पानी थपिँदै गयो।
पहिरोले थुनिएको बाँध भत्किदा जम्मा भएको पानीसँगै हिउँ, ढुंगा, माटो र पहिरोको मलबे एकैपटक तलतिर बग्यो।
यसले सामान्य बाढीभन्दा अत्यन्त शक्तिशाली डेब्रिज फ्लो अर्थात् पानीसँगै ठूलो परिमाणमा ढुंगा–माटो बग्ने बहाव सिर्जना गर्यो। यस्तो बहावले नदीको धारसमेत परिवर्तन गर्न सक्ने भएकाले यसको विनाशकारी क्षमता अत्यधिक हुन्छ। रोयटर्सका अनुसार प्रारम्भिक बहावको गति करिब ५० मिटर प्रतिसेकेन्डसम्म पुगेको अनुमान गरिएको छ।
ल्हेन्देबाट रसुवागढीसम्म
हिमपहिरोपछि बनेको शक्तिशाली बहाव ल्हेन्दे खोलाबाट तल झर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको रसुवागढीतर्फ आयो। ल्हेन्दे खोलाको बहाव भोटेकोशीमा मिसिएपछि पानी र मलबेको मात्रा अझ ठूलो भयो।

रसुवागढी, टिमुरे आसपासका संरचना तथा सडक–पुलमा बाढीले ठूलो क्षति पुर्यायो। चीनतर्फ पनि यही घटनाको मलबे तथा बाढीले ग्यिरोङ बन्दरगाह क्षेत्रमा सडक, सञ्चार र विद्युत् संरचनामा गम्भीर क्षति पुर्याएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
त्यसपछि बाढी भोटेकोशी नदीको धार हुँदै स्याफ्रुबेँसी र तल्लो तटीय क्षेत्रमा तीव्र गतिमा फैलियो। नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनामा व्यापक क्षति पुग्यो।
त्रिशूलीसम्म फैलियो प्रभाव
भोटेकोशीमा आएको अत्यन्त ठूलो बहाव तलतिर पुग्दै जाँदा त्रिशूली नदी प्रणालीमा मिसियो। त्यसपछि बाढीको प्रभाव बेत्रावती हुँदै त्रिशूली र त्यसपछि तल्लो तटीय क्षेत्रमा फैलियो।
उपग्रह तस्बिरमा बाढीपछि नदीको धार तथा आसपासको भूभागमा ठूलो परिवर्तन देखिएको छ। कतिपय स्थानमा नदीको पुरानो धारसमेत मलबेले पुरिएको र नयाँ धार बनेको विश्लेषण गरिएको छ।
तपाईको प्रतिक्रिया