बुधबार ३१ भदौ २०८३
बिजनेस

असोजका लागि ४ बैंकले घटाए निक्षेपको ब्याज, १६ वटाको स्थिर

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

काठमाडौँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। भदौमा ४.१३ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर असोजमा घटेर ४.०८ प्रतिशतमा कायम भएको छ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र कर्जाको माग अपेक्षाकृत कमजोर रहेका बेला बैंकहरूले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। प्रचलित व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्छ।

नयाँ दरअनुसार १६ वटा वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन्। चार बैंकले भने ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा कुमारी, नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन्।

असोजमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिने भएका छन्। सबैभन्दा बढी ब्याजदर प्रभु बैंकले प्रस्ताव गरेको छ। अर्कोतर्फ, कुमारी बैंकले व्यक्तिगत निक्षेपमा ३.७३ प्रतिशत ब्याजदर कायम गरेको छ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले नियमित निक्षेपमा प्रदान गरिरहेको ब्याजदरभन्दा एक प्रतिशत बिन्दुसम्म बढी ब्याज रेमिट्यान्स निक्षेपमा दिन सक्छन्।

बैंकिङ प्रणालीमा पछिल्ला तीन वर्षदेखि पर्याप्त तरलता रहँदै आएको छ। प्रणालीमा लगानीयोग्य रकम बढेपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट निरन्तर रकम खिच्दै आएको छ। त्यसका बाबजुद बैंक तथा वित्तीय संस्थामा अहिले पनि १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको बताइएको छ।

निक्षेप तथा कर्जाको ब्याजदर पछिल्ला वर्षहरूकै न्यून तहमा पुगे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता पनि अपेक्षित रूपमा घट्न नसकेको हो।

तपाईको प्रतिक्रिया