बिहीबार १२ कार्तिक २०८३
राजनीति

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै

बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्। नवनिर्वाचित सभापति गगनकुमार थापाले भने असोज ३१ गते फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रमलाई विगतभन्दा फरक ढाँचामा सञ्चालन गरिनेछ। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

शपथ ग्रहण र पदबहालीपछि आजै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकसमेत बस्ने तयारी छ। बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्ने जनाइएको छ।

त्यसैगरी, बैठकमा बाँकी केन्द्रीय सदस्य मनोनयन तथा पार्टीका प्रदेश र जिल्ला अधिवेशनबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया