देउवा पक्षले अघि बढायो समानान्तर संगठन, नेपाल तरुण दलको अध्यक्षमा दिल लामा
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र समानान्तर संगठन विस्तारलाई तीव्रता दिएको छ । यसैक्रममा देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई जिम्मेवारी दिएको छ ।
नेपाल तरुण दलका तत्कालीन अध्यक्ष विद्वान गुरुङले गत वैशाख १६ गते पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त बनेको थियो । गुरुङले पार्टी निर्माणका लागि सहज वातावरण बनाउन राजीनामा दिएको बताएका थिए । उनको राजीनामापछि देउवा पक्षले लामालाई अध्यक्षको जिम्मेवारी दिएको हो।
स्रोतका अनुसार लामालाई ६ महिनाका लागि तदर्थ अध्यक्षको जिम्मेवारी दिइएको हो । उक्त अवधिमा संगठनलाई सक्रिय बनाउने र आगामी महाधिवेशनको तयारीलाई अघि बढाउने उद्देश्य रहेको बताइएको छ।
कांग्रेसभित्रको आन्तरिक विवादपछि पार्टी दुई पक्षमा विभाजित बनेको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले गत वैशाखमा मनिष कोइरालालाई नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेको थियो । उक्त नियुक्तिलाई वैधानिक नमान्दै देउवा पक्षले आफ्नै नेतृत्वमा भ्रातृ संस्थाहरू विस्तार गरिरहेको छ।
नवनियुक्त अध्यक्ष लामा यसअघि नेपाल तरुण दलका केन्द्रीय सदस्य थिए । काभ्रेपलाञ्चोक क्षेत्रमा सक्रिय रहँदै आएका उनी पार्टीका विभिन्न केन्द्रीय कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।
गुरुङले राजीनामा दिँदा तरुण दलको पाँचौँ महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका थिए । तर, राजनीतिक परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न कठिनाइ भएको उनको भनाइ थियो।
यसैबीच, देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ । सोही तयारीअनुसार विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्दै संगठन विस्तारको काम अघि बढाइएको बताइएको छ । हालसम्म १० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी सभापति चयन गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया