सोमबार ९ कार्तिक २०८३
खेलकुद

एनपिएल विजेताले १ करोड ५० लाख पुरस्कार पाउने, उपविजेतालाई ८० लाख

आइतबार कार्तिक ८, २०८३/ Sunday 10-25-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

प्रतियोगिताको उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। शीर्ष चार टोलीलाई पुरस्कारस्वरूप कुल ३ करोड रुपैयाँ वितरण गरिनेछ।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले पुरस्कार राशिबारे जानकारी दिएको हो।

गत संस्करणमा उपाधि जितेको लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो। यसपटक विजेताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँले बढाइएको छ। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यस संस्करणमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।

यसपटक एनपिएलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डीआरएस), विदेशी खेलाडी अनुबन्धमा सहजता र कीर्तिपुरस्थित मैदानका सुविधामा सुधारलगायत परिवर्तन गरिएका छन्।

 

तपाईको प्रतिक्रिया