बुधबार ४ कार्तिक २०८३
समाज

विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, कुन दिशातर्फ फर्किने?

मंगलबार कार्तिक ३, २०८३/ Tuesday 10-20-26

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमी बुधबार मनाइँदैछ। यस दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्ने र टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटमा उत्तम साइत रहेको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार मान्यजनबाट देवीको प्रसादस्वरूप टीका ग्रहण गर्न विशेष साइत पर्खनैपर्ने बाध्यता छैन। परम्पराअनुसार शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि भने समितिले उत्तम समय निर्धारण गरेको हो।

यस वर्ष विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहने भएकाले टीका लगाइदिने व्यक्ति पूर्व फर्किने र टीका लगाउने व्यक्ति पश्चिम फर्किने गरी बस्नुपर्ने समितिले जनाएको छ।

विजयादशमीका दिन घरमा बुबाआमा तथा अन्य मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएपछि मावली, ससुराली तथा अन्य आफन्तकहाँ गएर टीका लगाउने परम्परा छ। कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहे पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

बडादशैँको अवसरमा नौ दिनसम्म पूजा आराधना गरिएकी नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको छ।

 

तपाईको प्रतिक्रिया