सोमबार ९ कार्तिक २०८३
समाज

खोटाङमा श्रीमतीसहित चार जनामाथि खुकुरी प्रहार, तीनको अवस्था गम्भीर

सोमबार कार्तिक ९, २०८३/ Monday 10-26-26

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन्।

घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ। नरेन्द्रको अवस्था भने सामान्य रहेको छ।

खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिको भाग तथा हातमा चोट लागेको छ भने नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारको टोली घटनास्थल पुगेको थियो। घटनापछि फरार रहेका नइन्द्रकुमारलाई खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार श्रीमतीसँगको सामान्य घरायसी विवादपछि नइन्द्रकुमारले सुतिरहेका परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। घटनापछि गाउँमा त्रास र तनाव फैलिएको स्थानीयले बताएका छन्। पीडित परिवारले भने सबैको सामूहिक हत्या गर्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ।

नइन्द्रकुमार नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएका बेला घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया