बिहीबार १२ कार्तिक २०८३
समाज

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीलाई कति?

बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26

काठमाडौं । नागढुंगा सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्गमा सडक उपभोग दस्तुर लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरेको छ।

आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं भित्रिने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै दर कायम गरेको छ।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनी बस र मिनी टिपर–ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।

त्यसैगरी, बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया