जनकपुरविरुद्ध काठमाडौंले दियो ११६ रनको लक्ष्य, राहुल यादवले लिए चार विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।
काठमाडौंलाई कम योगफलमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए ।
काठमाडौंका ओपनर स्मृत पटेलले १३ रन बनाउँदा साम हेजलेट एक रनमै आउट भए । हरिशंकर शाहले ९ रन बनाए भने रसिद खानले १७ रन जोडेर पेभेलियन फर्किए ।
भीम सार्कीले सर्वाधिक ३३ रन बनाएर काठमाडौंको इनिङ्स सम्हाल्ने प्रयास गरे । सुस्मित महर्जनले १० रन बनाउँदा कप्तान करण केसीले १८ बलमा ८ रन मात्र जोड्न सके ।
जनकपुरका लागि राहुल यादवले चार विकेट लिँदा शैफ हसनले दुई विकेट हात पारे । मोइन अली, हर्मित सिंह र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
यस सिजनको पहिलो खेल खेलिरहेको काठमाडौंले जनकपुरसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ । दोस्रो खेल खेलिरहेको जनकपुर भने पहिलो जितको खोजीमा छ ।
तपाईको प्रतिक्रिया