शुक्रबार १३ कार्तिक २०८३
राजनीति

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।

शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गरिएको छ।

१५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

त्यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। विभिन्न समावेशी समूहबाट ११ जना सहमहामन्त्री पनि निर्वाचित भएका छन्।

यद्यपि, अदालतमा मुद्दा विचाराधीन रहेकाले चार जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ भने रोकिएको छ। शपथ लिन नपाउनेमा सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादव रहेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ।

तपाईको प्रतिक्रिया