सोमपालको कप्तानी इनिङ्समा विराटनगरलाई हराउँदै कर्णालीको दोस्रो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले १८७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीको जितमा कप्तान सोमपाल कामी नायक बने। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ६२ रन बनाए। गुल्सन झा २८ रनमा अविजित रहे।
कर्णालीलाई जितसम्म पुर्याउन सोमपाल र पवन सर्राफले महत्त्वपूर्ण साझेदारी गरे। पवनले ३६ रन बनाए। उनीहरूको आक्रामक ब्याटिङले कर्णालीलाई दबाबबाट निकाल्दै जितको नजिक पुर्यायो। अन्तिम चरणमा सोमपाल र गुल्सनले अविजित साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पुर्याए।
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन। मार्क वाट १ रनमै बोल्ड भए। आरिफुल इस्लामले १२ बलमा ३ चौका र ३ छक्कासहित ३२ रन बनाए। हुसैन तलात खाता नखोली आउट भए। दीपक डुम्रेले २० रन जोड्दा अकबर अली १ रनमा आउट भए।
विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिए। चारिथ असलंका, प्रतीश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
लोकेशले एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्स सम्हालेका थिए। उनले ३२ बलमै अर्धशतक पूरा गरेका थिए।
विराटनगरका अर्का ओपनर इम्रान शेख ५ रनमा आउट भए। चारिथ असलंका ३ रनमा पेभेलियन फर्किँदा शेहान जयसूरिया ११ रन बनाएर रनआउट भए। म्याथ्युजले २३ बलमा ४ चौकासहित ३१ रन जोडे।
आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन बनाए। वसिर अहमदले १३ रन जोडे। विराटनगरले अन्तिम ओभरमा थप रन जोड्ने प्रयास गरे पनि नन्दन यादवले अन्तिम बलमा वसिरलाई बोल्ड गरे।
कर्णालीका कप्तान सोमपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले समान १ विकेट हात पारे।
खेलमा विराटनगरको कमजोर फिल्डिङ निर्णायक बन्यो। टोलीले पटक-पटक क्याच छाड्दा राम्रो ब्याटिङ प्रदर्शनका बाबजुद लक्ष्य जोगाउन सकेन। कर्णालीले त्यसको फाइदा उठाउँदै रोमाञ्चक जित निकाल्यो।
तपाईको प्रतिक्रिया