इनाम सापकोटासँग कुनै चिनजान र सम्पर्क छैन : प्रधानन्यायाधीश शर्मा
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनाम सापकोटासँग आफ्नो कुनै पनि प्रकारको चिनजान वा सम्पर्क नरहेको दाबी गरेका छन् ।
सापकोटासँग जोडिएका विषयमा आफ्नो नामसमेत उल्लेख गरेर समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले त्यसबारे स्पष्टीकरण दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका व्यक्ति तथा घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
‘जुन प्रसंग जोडेर मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान तथा सम्पर्कसमेत छैन,’ विज्ञप्तिमा भनिएको छ ।
शर्माले आफूले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूलाई कहिल्यै नभेटेको पनि बताएका छन् ।
इनाम सापकोटासँग सम्बन्धित विभिन्न विवरण सार्वजनिक भइरहेका बेला प्रधानन्यायाधीश शर्माको यो स्पष्टीकरण आएको हो ।
तपाईको प्रतिक्रिया