निरुता सिंहलाई ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को मानार्थ उपाधि
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ।
नेपाली चलचित्रमा अभिनयमार्फत पुर्याएको योगदान, कलात्मक उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उनलाई उक्त उपाधि प्रदान गर्न लागिएको हो।
रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ कार्यक्रममा निरुतालाई सम्मानित गरिने आयोजकले जनाएको छ।
सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी निरुताले नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्। ‘दर्पणछायाँ’, ‘रहर’, ‘मितज्यू’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘आफन्त’, ‘चाँदनी’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’ लगायतका चलचित्रमा उनको अभिनयलाई दर्शकले रुचाएका छन्।
अभिनयसँगै गायनमा समेत रुचि राख्ने निरुताले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी छन्। उनले ‘दीपशिखा’ म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।
रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार नेपाली फिल्म क्षेत्रमा निरुताले पुर्याएको योगदान र उनको प्रेरणादायी यात्राको सम्मानस्वरूप उक्त उपाधि प्रदान गर्न लागिएको हो।
यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ उपाधिबाट सम्मानित गरिसकिएको छ।
तपाईको प्रतिक्रिया