शुक्रबार १३ कार्तिक २०८३
माैसम

अर्नब चक्रवातको प्रभाव : आज र भोलि भारी वर्षा तथा हिमपातको सम्भावना

शुक्रबार कार्तिक १३, २०८३/ Friday 10-30-26

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना छ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ। केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन पनि महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक किनारमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ। यसबाट दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया