निर्वाचन परिणाममाथि प्रश्न उठाएको भन्दै नेतान्याहुको आलोचना
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले निर्वाचन परिणामलाई लिएर विदेशी हस्तक्षेपको आरोप लगाएपछि विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलहरूले उनको आलोचना गरेका छन्।
इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका दलहरूले निर्वाचनमा आफ्नो गठबन्धनले बहुमत प्राप्त गर्न नसकेपछि नेतान्याहुले परिणाममाथि प्रश्न उठाएको आरोप लगाएका छन्।
बीबीसीका अनुसार नेतान्याहुको दल लिकुडले अरब नेतृत्वका दलहरूले निर्वाचनमा अनियमितता गरेको आरोप लगाएको छ। कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त भएको आशङ्कामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान गरिरहेको छ।
तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई खण्डन गर्दै आफूविरुद्ध गलत सूचना फैलाउने अभियान चलाइएको जनाएको छ। अरब नेतृत्वका दलहरूले पनि आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।
अन्तिम निर्वाचन परिणामअनुसार १२० सदस्यीय इजरायली संसद् नेसेटमा नेतान्याहुको गठबन्धनले ५३ सिट जितेको छ भने आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गरेको छ। अरब नेतृत्वका दुई दलको गठबन्धन जोइन्ट लिस्ट र रामले १९ सिट जितेका छन्।
कुनै पनि गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनका लागि अरब नेतृत्वका दल निर्णायक बन्न सक्ने देखिएको छ। विपक्षी गठबन्धनले सरकार बनाउन उनीहरूको समर्थन लिनुपर्ने अवस्था रहेको छ।
लिकुडले अरब दललाई मतदान गर्न मतदातालाई प्रलोभन दिइएको आरोप लगाए पनि जोइन्ट लिस्टले त्यसलाई आधारहीन भनेको छ। निर्वाचनको निष्पक्षतामाथि व्यवस्थित रूपमा उल्लङ्घन भएको आरोप पुष्टि गर्ने आधार नरहेको कार्यवाहक केन्द्रीय निर्वाचन समितिका महानिर्देशक डिन लिभ्नेले बताएका छन्।
विपक्षी नेता आइसेनकोटले निर्वाचन परिणामको वैधतामाथि प्रश्न उठाउन नेतान्याहुले योजनाबद्ध अभियान चलाएको आरोप लगाएका छन्। अरब दलका नेताहरूले पनि पराजित पक्षले जातिवादी आरोप लगाएर सुरक्षा निकायलाई निर्वाचन परिणाम उल्ट्याउन प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन्।
यसअघि निर्वाचनका क्रममा नेतान्याहुले अरब मतदाताको बढ्दो सहभागितालाई दक्षिणपन्थी गठबन्धनका लागि चुनौतीका रूपमा प्रस्तुत गरेका थिए। उनले दक्षिणपन्थी मतदातालाई मतदानमा सहभागी गराउन अरब मतदाताले मतदान गरिरहेको देखाउने कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका तस्बिरसमेत सार्वजनिक गरेका थिए।
तपाईको प्रतिक्रिया