शनिबार १२ श्रावण २०८१
बिजनेस

सरकारद्धारा गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा खुला

सोमबार माघ १९, २०७७/ Monday 02-01-21

काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ ।

यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको छ ।

जसअनुसार अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

यसबाहेक कुटनीतिक/औपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने भएको छ ।

विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने भएको छ ।

भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइने भएको छ ।

अनअराइभल सुविधा भने अहिले त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । स्थलमार्गबाट प्रवेश गर्न चाहने विदेशी नागरिकले भने नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया