शनिबार १२ श्रावण २०८१
समाज

एसईईमा चिट चोराइएको विषयको जिम्मा सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ: मनिष झा

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेश प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू, एसपीहरू र निरीक्षकले लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा एसईईमा चिट चोराइएको र आम मधेशलाई दोष दिइएको भन्दै मधेशलाई दोष नदिन आग्रह गरेका हुन् ।

उनले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेशको कुनै दोष नभएको बताएका छन् ।सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए। 

‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो। तर अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दैछ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ,’ उनले भने, ‘त्यो हामीले किन तिर्ने? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ। तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन्।’

उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि बताए।

तपाईको प्रतिक्रिया