नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो, फोहोर लोकतन्त्र भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकतन्त्रलाई गंगा नदी ठानेर नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, बालमन्दिरजस्ता काण्डहरु धोएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्र्दै उनले सरकारको यस्ता अकर्मन्यताको कारण जनताको नजरमा लोकतन्त्र मैलो भएको बताए ।
‘तपाईँहरुले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहनु भएको छ । पछिल्लो आठ महिनामा तपाईँहरुले लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिनु भएको छ । एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, तर फोहोर थुप्रियो लोकतन्त्रमा, गिरीबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयको जमिनका काण्डहरु धुनुभयो । जनताको नजरमा मैलो लोकतन्त्र देखियो,’– उनले भने ।
सरकारप्रतिको आक्रोश अहिले व्यवस्थामाथि पोखिन खोजेको उनले बताए । यस कुरालाई सरकारले आत्मसमीक्षा गर्न आवश्यक रहेको प्रचण्डको भनाइ छ । उनले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको बताए । दुई तिहाइको घोडा विचौलियाहरुले चलाइरहेको उनको आरोप छ । विचौलियाहरुको दबावमा निर्णय र नियुक्ति भइरहेको प्रचण्डको दाबी छ ।
तपाईको प्रतिक्रिया