आइतबार ३ असार २०८१
अर्थ

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

सोमबार जेठ ७, २०८१/ Monday 05-20-24

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ ।

निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको रु एक करोड ३८ लाख भुुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा रु एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका इञ्जिनियर अजय तिमिल्सिनाले यसअघि गरेको कामको भुुक्तानी नपाएको भन्दै थप बजेट प्राप्त हुने सुनिश्चित नभएपछि गत फागुनदेखि निर्माण रोकिएको बताउनुभयो । “९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा गत वर्ष काम गरेको रु ५६ लाख भुक्तानी पाउन बाँकी छ”, उहाँले भन्नुभयो, “समयमा भुक्तानी नपाएको र खरिद ऐन संशोधनसँगै ठेक्काको म्याद थप हुुने भएपछि काम रोकिएको हो ।”

उहाँका अनुसार १८ महिनाको ठेक्का अवधि बढेर तीन वर्ष पुुग्न लागेको छ । आयोजनामार्फत खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार हुने समस्या हटाउन विकल्पकारुपमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाउन पानी शुद्धीकरण गर्ने संरचना तयार पारिएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

उहाँका अनुसार बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भइसकेको छ । साथै ५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धीकरण गर्ने गर्ने फिल्टर पलान्ट निर्माण सकिएको छ ।

नयाँ प्रविधिको ‘सेडिमेशन’ र सो ‘साण्डफिल्टर’ ट्याङ्कीमा प्रयोगमा ल्याउन नसक्दा पानी शुद्धीकरण गर्न अतिरिक्त खर्च बढेको अध्यक्ष गिरीले बताउनुभयो । “बजेट अभावमा पानी शुद्धीकरण गर्ने ट्याङ्कीमा राख्ने सामग्री ल्याउन नसक्दा नयाँ संरचनाको प्रयोग हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पुरानो ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने संरचना मर्मत गर्दा धेरै खर्च बढिरहेको छ ।”

बेनी नगरपालिका–२ स्थित कालीगण्डकी नदी किनारको इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म करिब नौ सय मिटर चार इञ्चको जिआइ पाइप जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया