गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका–८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन् ।
स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाएपछि त्यस क्षेत्रका एक हजार ६ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिए ।
बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रीय प्रशारणको लाइन जोड्न पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।
यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्यांकन सुरु गरेको उनको भनाइ छ । रासस
तपाईको प्रतिक्रिया