गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने अनेराश्ववियुका विद्यार्थीलाई अनुसन्धान गर्ने हिम्मत समेत नरहेको बताए।
उनले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हतकडी लगाएर १५ दिन डुलाउने ?’
सत्ता जोगाउन अनेरास्ववियुका नेतामाथि अनुसन्धान नगरिएको आरोप पनि उनले लगाए । उनले दुईतिहाइको सरकारका गृहमन्त्रीले प्रहरीकै सुरक्षा गर्न नसके युवा कसको मुख हेरेर देशमा बस्ने ? भन्दै थप प्रश्न गरे ।
“कम्तीमा पनि छातीमा हात राखेर आज नेताहरूले भन्नुपर्छ, दुईतिहाइको तपाईंहरूको बहुमत छ, गृहमन्त्रीले आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ? तपाईंहरूलाई भोटै हाल्न ?,” खनालले भने ।
उनले उक्त घटनाबारे गृहमन्त्रीको जवाफ पनि माग गरे । “आफ्नो कमान्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो ? हामीलाई जवाफ दिनुपर्यो,” सांसद खनालको माग छ ।
तपाईको प्रतिक्रिया