
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने बताएका छन् ।
३०औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले शान्ति प्रक्रिया नटुङ्ग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।
‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ उनले भने, ‘यसले आज मात्र होइन, सयौँ वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको भएको उनको अडान छ ।
अध्यक्ष दाहालले आफूहरू जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा रहेको उल्लेख गर्दै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए । उनले यसको मुख्य प्रेरणा जनयुद्ध नै रहेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया