प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिकाहरूलाई पूर्णरूपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन्।
पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरूले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष दाहालले यसलाई क्रान्तिकारीहरूले क्रान्ति पूरा गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।
आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उनले अहिले त्यही संघर्षको विन्दु सुरु भएको उनले स्पष्ट गरे।
गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए। उनले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरूलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि जिकिर गरे।
वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।
प्रतिक्रियावादी शक्तिहरूसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको उनले जानकारी दिए। यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै उनले यसको अग्रमोर्चामा युवाहरूलाई नै राखिएको र वाइसिएलले पनि देशव्यापी लाखौं युवाहरूलाई तम्तयार अवस्थामा राख्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया