सोमबार ४ चैत २०८१
समाज

बाजुरामा जिउँदै गाईलाई नदिमा बगाउनेलाई कारवाहीको माग

सोमबार चैत ४, २०८१/ Monday 03-17-25

काठमाडौं । प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ ।  बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।

‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् । 

बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो । 

त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो ।

‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।’

तपाईको प्रतिक्रिया