पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले ताली खाँदै र ताली दिँदै हिँड्ने कार्य स्वभनीय नरहेको बताएका छन् ।
आज (सोमबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताले दरबार बाहिर पठाइसकेको पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्न सक्नुपर्ने बताए । होइन भने पूर्वराजा ज्ञानेन्द्रले ‘म राजनीतिक खेलाडीको रुपमा मैदानमा आएँ’ भनेर जनतालाई भन्न सक्नुपर्ने उनको भनाइ छ ।
राजा आउँछ रे भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भइरहेको उनले बताए । जनता भड्काउने यस्ता प्रकारका कार्यमा परिवर्तनकारी राजनीतिक दलहरु दृढतापूर्वक उभिन नसकेको आफूले अनुभूति गरेको पनि उनले बताए । प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा आफैं गएर तत्कालीन समयमा ज्ञानेन्द्रसँग एक घण्टा कुरा गरेर विदाइ गरेको पनि उनले स्मरण गराए ।
उनले नयाँ संविधान जारी भएको लामो समयपछि शाहले ‘मै केही गर्छु’ भनेर गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए । “म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा । उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,” सिटौलाले भने, “अहिले आएर मै केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु शोभनीय विषय भएन ।”
उनले पूर्वराजा ज्ञानेन्द्रले आफूहरूले दिएकै सम्मान ग्रहण गर्नु उचित हुने बताए । नभए राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्नेमा उनले जोड दिए ।
“होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ,” उनले भने ।
तपाईको प्रतिक्रिया