विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

काठमाडौँ । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरुले सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गरे ।
सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताइन् । उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरिन् ।
सांसद दीपकबहादुर सिंहले युवाहरु विदेश पलायन बढ्दा मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको बताए । देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउनका लागि यौन व्यवसाय खुला गरिनुपर्छ भनेर संसद्मा बोलिनु आपत्तिजनक रहेको उनको भनाइ थियो । राप्रपा सांसद ज्ञानबहादुर शाहीमाथि आइतबारको संसद् बैठकमा अपमान भएको पनि उनको भनाइ छ।
सांसद कृष्णकुमार श्रेष्ठले बाराका व्यवसायीहरुले जिल्ला प्रशासनबाट अनावश्यक दुःख भोग्नु परेको बताए । बारा जिल्लाको विकास निर्माणका लागि आफूले संसद्मा पटकपटक कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । अमलेखगञ्जका नागरिकका लागि खानेपानीको व्यवस्था गर्न उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जङ्गली जनावर र मुख्यगरी हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको र जङ्गली जनावरको त्रास बढिरहेको विषय संसद्मा राखे । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पनि उनले आग्रह गरे । रासस
तपाईको प्रतिक्रिया