बुधबार ४ चैत २०८२
राजनीति

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध रिट सुनुवाइ बिहीबार हुने

मंगलबार चैत ३, २०८२/ Tuesday 03-17-26

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्ध दायर रिट तेस्रो दिन पनि हेर्दाहेर्दैमा राखिएको छ।

सुनुवाइ अब बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुनेछ। निवेदक पक्षका वकिलहरूले बहस टुंगाइसकेका छन् भने जबाफी पक्षका वकिलहरूले बहस गरेका छन्।

महान्यायाधिवक्ताले रवि विरुद्धको अभियोग फिर्ता लिन पुस ३० गते स्वीकृति दिएकी थिइन्। त्यसपछि पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिलले जिल्ला अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएका थिए।

निवेदक युवराज सफलले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको र लागू गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग कमजोर नपरोस् भनेर अन्तरिम आदेश माग गरिएको छ।

यो मामिलामा रवि लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोधका लागि मुद्दा चलाइएको भन्दै चुनौती दिएका छन्। उनीविरुद्ध सूर्यदर्शन सहकारी ठगीसहित २७ करोडभन्दा बढी रकमको बिगो कायम गरिएको थियो।

उच्च अदालत बुटवलले पुस ३ गते उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। रूपन्देही अदालतले १ करोड धरौटी मागेपछि रविले ३ करोड ७४ लाख रूपैयाँ बुझाएर मुद्दामा छुट पाएका थिए।

 

तपाईको प्रतिक्रिया