ग्यास अभाव बढ्दै: माग अनुसार आपूर्ति गर्न नसकेको वाणिज्य विभागको स्विकारोक्ती
काठमाडौं । खाना पकाउने ग्यासको अभाव देशभर महसुस भइरहे पनि यसको मुख्य कारण अनावश्यक सञ्चय नभई माग अनुसार आपूर्ति हुन नसक्नु रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले दैनिक मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा अहिले ग्यास अभाव देखिएको बताए। उनका अनुसार दैनिक १३० बुलेट ग्यास उपलब्ध भए पर्याप्त हुने भए पनि हाल दैनिक ९० बुलेट मात्रै आपूर्ति भइरहेको जानकारी विभागमा प्राप्त भएको छ।
निर्देशक तिवारीले बजार अनुगमनका क्रममा व्यापारीहरूले ग्यास लुकाएको पाइएको नभएको पनि बताए। तर ग्यासको अभाव बढ्ने डरका कारण उपभोक्ताले केही सञ्चय गरेको देखिएको उनको धारणा छ।
उनले ग्याससँगै इन्डक्सन चुलोको बिक्री र वितरणमाथि पनि विभागले आवश्यक अनुगमन गरिरहेको जानकारी दिएका छन्।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको र नेपाल आयल नियमको अकर्मण्यताले पनि ग्यास अभावमा योगदान गरेको बताए।
तपाईको प्रतिक्रिया