इरानका २०० भन्दा बढी लक्ष्यमा इजरायलको हवाई आक्रमण
जेरुसेलम । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायल–इरानबीच बढ्दो तनावबीच गरिएको आक्रमणले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको बताइएको छ।
इजरायली वायुसेनाका अनुसार सैन्य गुप्तचरको सूचनाका आधारमा दर्जनौँ लडाकु विमान प्रयोग गरी ब्यालिस्टिक मिसाइल प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र र सैन्य उत्पादन स्थलहरूलाई लक्षित गरिएको थियो। ‘रोअर अफ द लायन’ नामक अभियानअन्तर्गत इरानबाट सम्भावित मिसाइल आक्रमण कम गर्ने उद्देश्यले सयौँ आक्रमणात्मक उडान गरिएको बताइएको छ।
यसैबीच लेबनान मोर्चामा इजरायली सेनाले हिजबुल्लाहसँग सम्बन्धित केही उच्च व्यक्तिहरू मारिएको दाबी गरेको छ। मारिनेहरूमा इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को मिसाइल एकाइका अपरेसन कमान्डर अबु धर मोहम्मदी, इमाम हुसेन डिभिजनका वरिष्ठ कमान्डर अली मुस्लिम तबाजा र हिजबुल्लाहको ‘रादवान फोर्स’ का कमान्डर अबु अली रियान रहेका छन्।
इजरायली सेनाका अनुसार यस कारबाहीमा १०० भन्दा बढी लडाकु मारिएका छन् र ‘रादवान फोर्स’ का ६० भन्दा बढी कमान्ड तथा नियन्त्रण केन्द्रहरू ध्वस्त पारिएका छन्।
यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका सम्भावित सर्वोच्च नेता मोजताबा खामेनीलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले इजरायलले आफूले आतङ्कवादी ठानेका समूहविरुद्ध आवश्यक परे भविष्यमा पनि कारबाही जारी राख्ने बताएका छन्।
तपाईको प्रतिक्रिया