शनिबार ३० फाल्गुण २०८२
बिजनेस

मध्यपूर्व युद्धले तेल बजार तातेपछि रुसी तेलमा अमेरिकी प्रतिबन्ध ३० दिनका लागि हटाइयो

शुक्रबार फाल्गुण २९, २०८२/ Friday 03-13-26

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य उकालो लागेपछि अमेरिकाले रुसी कच्चा तेलमाथि लगाइएको केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेको छ।

समाचार संस्था रोयटर्सका अनुसार समुद्रमा रोकिएका रुसी पेट्रोलियम पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन अमेरिकाले ३० दिनका लागि प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यस निर्णयपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका रुसी तेल ट्याङ्कर विभिन्न देशतर्फ पठाउन सकिनेछ।

इरानसँग युद्ध सुरु भएपछि तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले यसअघि नै भारतलाई रुसी तेल किन्न अनुमति दिएको थियो। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो र त्यसपछि रुसबाट तेल किन्ने देशहरूलाई उच्च भन्सार दर लगाउँदै आएको थियो।

अमेरिका र इजरायलको संयुक्त आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार तथा स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने तेल ट्याङ्करहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ। यस कारण उक्त मार्गमा जहाज आवागमन प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ।

हर्मुज जलडमरु विश्वको तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ। इरानले तेलको मूल्य प्रति ब्यारेल २०० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ भने हाल एशियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको छ।

मध्यपूर्वमा युद्ध सुरु भएको दोस्रो हप्तासम्म पनि तनाव घट्ने संकेत देखिएको छैन। इरान र इजरायलबीच एकअर्काविरुद्ध मिसाइल र ड्रोन आक्रमण जारी रहेको छ।

यसैबीच, आकाशमै इन्धन भर्ने अमेरिकी सैन्य विमान इराकमा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार जनाको ज्यान गएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डलाई उद्धृत गर्दै बीबीसीले पश्चिमी इराकमा भएको उक्त दुर्घटनामा चालक दलका ६ मध्ये चार जनाको मृत्यु भएको जनाएको छ।

दुईवटा इन्धन आपूर्ति विमानमध्ये एउटा दुर्घटनामा परेको हो भने अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया