समानुपातिकतर्फ ३७ जिल्ला प्रतिनिधिविहीन, काठमाडौंबाट सबैभन्दा बढी १७ सांसद
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजाले जिल्लागत प्रतिनिधित्वमा असन्तुलन देखिएको छ। ११० समानुपातिक सांसदमध्ये ३७ जिल्लाबाट एक जना पनि निर्वाचित हुन सकेका छैनन् भने ४० जिल्लाबाट मात्र प्रतिनिधित्व भएको छ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी काठमाडौंबाट १७ जना निर्वाचित भएका छन्। झापाबाट ६ जना, मोरङ र धादिङबाट पाँच–पाँच जना सांसद विजयी भएका छन्। सुनसरी, सिराहा, धनुषा, दाङ र कञ्चनपुरबाट समान चार–चार जना निर्वाचित भएका छन्।
दलगत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेकपाका ९ तथा राप्रपा र श्रम संस्कृति पार्टीका ४–४ जना सांसद रहेका छन्।
प्रदेशगत रूपमा बागमती प्रदेशबाट ३६, कोशीबाट २२ र मधेशबाट १८ जना निर्वाचित भएका छन्। अन्य प्रदेशमा गण्डकीबाट ७, लुम्बिनीबाट १३, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १० जना समानुपातिक सांसद बनेका छन्।
जिल्लागत रूपमा केही जिल्लाबाट धेरै प्रतिनिधित्व भए पनि १३ जिल्लाबाट मात्र एक–एक जना सांसद निर्वाचित भएका छन्। आयोगका अनुसार मतका आधारमा चयन गरिने यो प्रणालीमा सबै जिल्लाको समान प्रतिनिधित्व हुन नसकेको देखिएको छ।
तपाईको प्रतिक्रिया