बुधबार ६ जेठ २०८३
समाज

होल्डिङ सेन्टरमा सुकुमबासीलाई कैदीजस्तै राखिएको भन्दै सरकारको ध्यानाकर्षण

मंगलबार जेठ ५, २०८३/ Tuesday 05-19-26

काठमाडौँ । डोजर प्रयोग गरेर घर भत्काइएपछि होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको अवस्था निकै कष्टकर रहेको भन्दै संसदमा प्रश्न उठाइएको छ। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद विष्णुमाया विकले काभ्रेको होल्डिङ सेन्टरको अनुगमनका क्रममा त्यहाँको अवस्था दयनीय पाइएको बताइन्।

आकस्मिक समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको टोली सोमबार अनुगमनमा गएको जानकारी दिँदै सेन्टरमा ११० जना राखिएको उल्लेख गरिन्। त्यसमध्ये विद्यालय तथा कलेजमा अध्ययनरत २७ जना विद्यार्थीको पढाइ प्रभावित भएको उनको भनाइ थियो।

उनले होल्डिङ सेन्टरको अवस्था कैदी राख्ने स्थानजस्तै रहेको टिप्पणी गर्दै विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको बताइन्। साथै, पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका मिलन तामाङको घर डोजरले भत्काएपछि उनी मानसिक तनावमा परेको उल्लेख गर्दै उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद विकले सुकुमबासीहरूलाई बेवारिसे अवस्थामा नराख्न र उनीहरूको शिक्षा तथा स्वास्थ्यको उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह समेत गरिन्।

तपाईको प्रतिक्रिया