शुक्रबार १ जेठ २०८३
बिजनेस

बैंकहरूको ब्याजदर घट्दै, बचतकर्ताको आम्दानी खुम्चिँदै

८ बैंकले घटाए निक्षेपको ब्याजदर
बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26

काठमाडौं।  जेठ महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा ब्याजदर थप घटेको छ। सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार ८ वटा बैंकले दर कटौती गरेका छन् भने १२ वटा बैंकले पुरानै दर कायम राखेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर वैशाखमा ४.४२ प्रतिशत रहेकोमा जेठमा घटेर ४.३४ प्रतिशतमा पुगेको छ। संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२३ प्रतिशतबाट घटेर ३.२० प्रतिशत कायम भएको छ।

जेठका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंक रहेका छन्।

व्यक्तिगत निक्षेपतर्फ नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया र कुमारी बैंकले क्रमशः ०.२५, ०.२०, ०.२५, ०.२५, ०.१०, ०.२५ र ०.०९ प्रतिशतले ब्याजदर घटाएका छन्।

संस्थागत निक्षेपतर्फ भने कुमारी, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले ब्याजदर कटौती गरेका छन्। यी बैंकहरूले क्रमशः ०.४९, ०.५०, ०.२७ र ०.२५ प्रतिशतले ब्याजदर घटाएका हुन्।

यता १२ वटा बैंकले भने वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्। कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईएमबि बैंक ले ब्याजदर यथावत् राखेका हुन्।

 

तपाईको प्रतिक्रिया