मंगलबार ५ जेठ २०८३
अर्थ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, दुई अर्ब ४५ करोडको कारोबार

सोमबार जेठ ४, २०८३/ Monday 05-18-26

काठमाडौँ । सेयर बजारमा पछिल्ला दिनहरूमा दैनिक कारोबार रकम लगातार घट्दै न्यून स्तरमा पुगेको छ । कारोबार रकम घटेसँगै बजारमा लगानीकर्ताको सक्रियता कमजोर देखिएको विश्लेषण गरिएको छ ।

सोमबारको कारोबारमा कुल २ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ । करिब चार घण्टा सञ्चालन भएको बजारमा यो रकम पछिल्ला दुई वर्षयताकै न्यूनमध्ये एक रहेको बताइएको छ । यसअघि २०८१ वैशाख २४ गते पनि यस्तै कम कारोबार भएको थियो ।

इतिहासमा हेर्दा सेयर बजारमा दैनिक कारोबार रकम करिब २९ अर्ब ९५ करोड रुपैयाँसम्म पुगेको रेकर्ड छ । तर हालको कारोबार स्तर त्यसको तुलनामा निकै कमजोर देखिएको छ ।

यसअघि बजार सञ्चालन समय छोटिएको अवस्थामा पनि कारोबार घटेको थियो । फागुन २५ गते सर्किट ब्रेकरका कारण बजार छोटो समय मात्र सञ्चालन हुँदा कारोबार ५५ करोड रुपैयाँमा सीमित भएको थियो ।

अघिल्लो कारोबार दिन बजारमा ३ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसको तुलनामा पछिल्लो दिन कारोबार रकम थप घटेको देखिएको छ ।

विश्लेषकहरूका अनुसार निरन्तर घट्दो कारोबारले लगानीकर्ताको चासो र बजारको समग्र गतिशीलतामाथि पुनः मूल्यांकन आवश्यक भएको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया