अर्थमन्त्री संसद्मा नआएको प्रति अमरेशको आक्रोश– नयाँको नाममा सबै भत्काउने होइन
काठमाडौँ । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै प्रतिनिधिसभामा कडा आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित हुने संसदीय परम्परा रहेको उल्लेख गरे। सरकारले नयाँपनको नाममा स्थापित अभ्यासहरू तोड्दै गएको आरोप लगाउँदै उनले यसले संसद्को गरिमा र संसदीय व्यवस्थामाथि नै प्रश्न उठाएको बताए।
सिंहले आफू पाँच पटक सांसद भइसके पनि बजेटमाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको पहिलोपटक देखेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले संसद् सरकारसँग जवाफदेहिता खोज्ने थलो भएकाले यस्ता विषयमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने धारणा राखे।
उनले परम्परा परिवर्तन गर्ने नाममा सबै संरचना र अभ्यास भत्काउने प्रवृत्ति उचित नभएको टिप्पणी गर्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे। अत्यधिक उपेक्षा भएपछि आफू बोल्न बाध्य भएको पनि उनले बताए।
तपाईको प्रतिक्रिया