काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार गर्ने भनिएको सैन्य आक्रमणको योजना हाललाई स्थगित गरिएको बताएका छन्।
मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक वार्ता गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि आक्रमण रोक्ने निर्णय लिएको जानकारी दिएका हुन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग कुनै पनि प्रकारको आणविक हतियार नरहने सुनिश्चितता नै सम्भावित सम्झौताको मुख्य आधार हुने बताएका छन्। उनले वार्ताबाट सकारात्मक संकेत देखिएको पनि दाबी गरे।
ट्रम्पका अनुसार यदि सम्झौता हुन नसके कुनै पनि बेला ठूलो स्तरको सैन्य कारबाही सुरु गर्न अमेरिकी सैन्य नेतृत्वलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यद्यपि, सम्भावित आक्रमणका लक्ष्य वा त्यसको प्रकृतिबारे उनले खुलाएका छैनन्।
‘हामी ठूलो आक्रमणको तयारीमा थियौँ, तर त्यसलाई केही समयका लागि रोकेका छौँ। आशा छ, यो स्थायी रूपमा रोकिनेछ,’ ट्रम्पले भने।
उनले खाडी क्षेत्रका राष्ट्रहरू शान्ति प्रस्तावप्रति सन्तुष्ट भए अमेरिका पनि त्यसप्रति सकारात्मक हुनसक्ने संकेत दिएका छन्। साथै, युद्धभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिन चाहेको उल्लेख गर्दै ट्रम्पले इरानमाथि बमबारी नगरी समस्या समाधान भए आफू खुसी हुने बताएका छन्।
यसअघि आइतबार ट्रम्पले इरानलाई सम्झौताका लागि समय सकिँदै गएको चेतावनी दिएका थिए। सोमबार भने इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत वार्तासम्बन्धी आफ्नो धारणा अमेरिकासमक्ष पठाएको बताइएको छ।
तपाईको प्रतिक्रिया