आजको मौसमः केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना छ l।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ ।
तपाईको प्रतिक्रिया