बाजुरा–हुम्ला सीमा विवादः स्थानीयबीच झडप, प्रहरीसहित पाँच जना घाइते
काठमाडौं । बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्र लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर स्थानीयबीच तनाव चर्किँदा झडप भएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटामा मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले सीमा सम्बन्धी विवाद उठाउँदै विरोध जनाएपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । लामो समयदेखि कायम रहेको सीमा विवाद पछिल्ला दिनमा थप उग्र बन्दै गएको स्थानीयले बताएका छन् ।
झडपका क्रममा प्रहरीसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी तथा गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनीहरूको ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको छ ।
घटनास्थलमा त्यतिबेला थप तनाव सिर्जना भएको बताइएको छ, जब हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली त्यहाँ पुगेको थियो । टोलीले ड्रोनमार्फत दृश्य खिच्ने प्रयास गरेपछि थाली गाउँका स्थानीय आक्रोशित बनेका थिए । त्यसपछि विवाद थप चर्किएको स्थानीय स्रोतले जनाएको छ ।
घटनापछि उक्त क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध बनेको जनाइएको छ । यस कारण मेयर हमाल नेतृत्वको टोलीको अवस्था र गतिविधिबारे समेत स्पष्ट जानकारी आउन सकेको छैन ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, हुम्लाको थाली गाउँका स्थानीयले उक्त क्षेत्र आफ्नो परम्परागत भोगचलनभित्र पर्ने दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया