बिहीबार ७ जेठ २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश हुने

बुधबार जेठ ६, २०८३/ Wednesday 05-20-26

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ संसदमा प्रस्तुत गर्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा उक्त विधेयक संसदमा दर्ता गर्ने कार्यसूची पनि तय गरिएको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

अर्थमन्त्री वाग्लेले गत वैशाख ३१ गते संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया